धरान : धरानमा शनिवार हुने वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीको अन्तिम तयारी पुरा भएको छ । 

किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा शनिवार बिहान ११ बजे देखि सुरु हुने सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, विशेष अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज राई, उपमेयर आइन्द्र विक्रम बेघा लगायत विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ । 

वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीको सामूहिक ताल, सिली, गीत भाका तर्फ प्रथमले ३० हजार, दोस्रोले २५ हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । यसै गरी व्यवस्थापनतर्फ धरान भित्र र धरान बाहिर ७ हजार, ५ हजार ३ हजार पुरस्कार रहेको किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । 

यसै गरी सहभागिता धरान बाहिर, सांस्कृतिक सामाग्री धरान भित्र ७,५ र ३ हजार, सबै भन्दा बढी सहभागिता जनाउने समूहलाई धरान भित्र र बाहिर ५ हजार, उत्कृष्ट भेषभुषा महिला तर्फ ३ हजार, उत्कृष्ट ढोल वादकलाई ३ हजार र उत्कृष्ट भेषभुषा पहिरन धरान भित्रलाई ७,५ र ३ हजार पुरस्कार रहेको पनि चाम्लिङले बताए । 

वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीमा धरान बाहिर र सुनसरी जिल्ला भरीबाट प्रतियोगी तथा अप्रतियोगी ३० भन्दा बढी समूहहरूको सहभागिता रहनेछ ।