धरान : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नाम किरात प्रदेश नै हुनुपर्ने बताए। पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्ने जिकिर गर्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईले यो प्रदेशको नाम किरात प्रदेश माग गर्न किरातीहरुको अधिकारको कुरो हो भन्दै यहाँको सबै भन्दा पुरानो आदिवासी किराँती भएको बताए। 

आज धरानमा सुनसरीभरिको वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यो प्रदेशको नाम किरात हुनुपर्छ भन्ने दोहोर्याउछु भन्दै किराँती सभ्यता समृद्ध सभ्यता भएको बताए। कोसी सभ्यताको कुरा पनि आएको भन्दै मुख्यमन्त्री राईले सभ्यता प्रकृतिले बनाउँदैन मान्छेले बनाउँछ। त्यसैले किरात सभ्यता जतिको पुरानो सभ्यता केही पनि नभएकोले प्रदेश १ को नाम पहिचान र सभ्यताको आधारमा किरात हुनुपर्ने दाबी गरे । 

कार्यक्रममा सामाजिक विकास मन्त्री राजन राईले पनि प्रदेश १ को नाम किरात प्रदेश हुनुपर्ने दाबी गरे। प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आफू पनि माझ किरातमा जन्मिएको भन्दै किराँती संस्कार र संस्कृतिसँग जानकार भएको बताए । यसैगरी धरानका नवनिर्वाचित मेयर हर्कराज राईले पनि प्रदेशको नाम चाडै प्रदेश सभाबाट टुङ्गो लाग्नुपर्ने बताए । किरात राई यायोक्खा केन्द्रीय समितिबाट सम्बोधन गर्दै दोर्पध्वज राईले अव प्रदेश १ को नाम किरात बाहेक विकल्प अरू नभएको बताए । 

किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा धरान-१७ स्थित साकेला सांस्कृतिक पार्कमा आयोजित सुनसरीभरिको वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीको समापन समारोहमा हजारौँको उपस्थिति रहेको थियो भने २५ भन्दा बढी साकेला नाच्ने समूहहरूको सहभागिता रहेको छ। 

वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीको सामूहिक ताल, सिली, गीत भाका तर्फ प्रथमले ३० हजार, दोस्रोले २५ हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । यसै गरी व्यवस्थापनतर्फ धरान भित्र र धरान बाहिर ७ हजार, ५ हजार ३ हजार पुरस्कार रहेको किरात राई यायोक्खा सुनसरी जिल्ला कार्य समितिका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । 

यसै गरी सहभागिता धरान बाहिर, सांस्कृतिक सामाग्री धरान भित्र ७,५ र ३ हजार, सबै भन्दा बढी सहभागिता जनाउने समूहलाई धरान भित्र र बाहिर ५ हजार, उत्कृष्ट भेषभुषा महिला तर्फ ३ हजार, उत्कृष्ट ढोल वादकलाई ३ हजार र उत्कृष्ट भेषभुषा पहिरन धरान भित्रलाई ७,५ र ३ हजार पुरस्कार रहेको पनि चाम्लिङले बताए ।