धरान : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले १५ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । 

मुख्यमन्त्री राईले नेपाली जनताको ऐतिहासिक जित भएको विशेष दिनका रूपमा आज १५ औँ गणतन्त्र दिवस मनाइरहँदा म  देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु शुभकामना सन्देशमा उल्लेख गरेका छन् । 

तत्कालीन समयमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको ‘गणतन्त्र’ जनताको बलिदानी पूर्ण सङ्घर्षको प्रतिफल हो । म यस अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिनुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण पनि गरेका छन् ।

लामो र ऐतिहासिक सङ्घर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको उल्लेख गर्दै मुलुक गणतन्त्रसँगै सङ्घीय शासन प्रणालीमा रूपान्तरित भएको सन्देशमा भनेका छन् । भर्खरै स्थानीय तहको एक कार्यकाल सकिएर दोस्रो कार्यकालका लागि मुलुकभर एकसाथ निर्वाचन सम्पन्न भएको छ । नेपाली जनताले यो निर्वाचनमार्फत संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो अभिमत प्रकट गरेका छन् । यस निर्वाचनमार्फत नेपाली जनताले नेपालको राजनीतिक स्थिरता र समृद्धिको पक्षमा आफ्नो मत जाहेर गरेका छन् । अग्रगामी समाज निर्माणका लागि नेपाली जनताले प्रकट गरेको यो अभिमत प्रति हार्दिक आभार प्रकट गर्दछु ।

यसरी संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिमा व्यवहारिक रूपमा नै क्रमशः संस्थागत हुँदै गइरहेको छ । स्थानीय तहको निर्वाचनले लोकतन्त्रको जगलाई थप मजबुत र संस्थागत गर्न मद्दत पुर्‍याएको छ । मुख्यमन्त्री राईले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित हुनुहुने सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेका छन् ।

सन्देशमा मुख्यमन्त्री राईले गणतन्त्र दिवस २०७९ को अवसरमा संविधानको मर्म र भावनाअनुसार अघि बढ्न, राष्ट्र हित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा थप उत्साह र प्रेरणा मिलोस् भन्दै सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा १५ औँ गणतन्त्र दिवसको पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु भनेका छन् ।