धरान : प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ १५ नेपाली जनता सम्मानित भएको दिन भएको बताएका छन् । 

१५ औँ गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख खापुङले राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, आत्मसम्मान एवम् मानवअधिकारको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको १५ औँ वर्षगाँठको अवसरमा ‘गणतन्त्र दिवस २०७९’ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु भनेका छन् । साथै महत्त्वपूर्ण उपलब्धि प्राप्तिका लागि अदम्य साहसका साथ विभिन्न चरणका आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धा सुमन पनि सन्देशमा अर्पण गरेका छन् ।

आज नेपाली जनताको ठुलो सङ्घर्षको प्रतिफल स्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको दिन हो । तसर्थ आजको दिन नेपाली जनता सम्मानित भएको दिन पनि हो । जनताको बलिदानले बनाएको आजको दिनबाट मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणसहितको जीवनस्तर सुधार गर्नुपर्ने लक्ष्य राखिनुपर्छ । यही लक्ष्य प्राप्तिका लागि बनेको सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारले आ–आफ्नो क्षेत्रबाट अत्यन्त जबाफदेहितापूर्ण ढङ्गले काम गर्नुपर्ने हुन्छ भन्ने सन्देश बाँड्न चाहन्छु ।

प्रमुख खापुङले सन्देशमा भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित हुनुहुने सम्पूर्ण स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त पनि गरेका छन् ।

सन्देशमा ‘गणतन्त्र दिवस २०७९’ लाई नेपाल सरकारले जेठ १४, १५ र १६ गते भव्यतापूर्वक मनाइरहेका बेला यस दिवसलाई हाम्रो प्रदेशमा पनि सबै तह र तप्काबाट भव्य रूपमा मनाइनुपर्छ भन्ने आशा गर्दछु भनेका छन् ।

Subhakamana