धरान : मोरङको बेलबारी नगरपालिका-१० स्थित भाउन्नेमामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

हिजो बेलुका सवा ७ बजे पूर्व तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३८८७ नम्बरको बस, सडकमा रोकी राखेको को २ त ८५५९ नम्बरको ट्र्याक्टरमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को.१० प ३५९९ नम्बरको मोटरसाइकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाइकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-११ मोरङका २३ वर्षीय अनिल चौधरी र २४ वर्षीय राजेश धिमाल घाइते भएका थिए ।

घाइतेहरूलाई तत्काल उपचारको लागि विराटनगर स्थित कोशी अस्पताल लगिएकोमा चौधरीको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको र धिमालको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।  दुर्घटनामा संलग्न सवारी साधन र दुवै चालकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।