धरान : मोरङको कटहरी गाउँपालिका-२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको हत्याको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका-१ का ३३ वर्षीय रविन भुजेल, कटहरी गाउँपालिका-१ कै २९ वर्षीय कपिल माझी र कटहरी गाउँपालिका-३ का २८ वर्षीय नितेश चौधरी रहेका छन् ।

आइतबार बिहान साढे ६ बजे मोरङ कटहरी गाउँपालिका -१ महेशपुर थानगाछी स्थित बित्तु माझीको खेतमा तुलसी श्रेष्ठ मृत अवस्थामा रहेको जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय (ख) हाटखोला र थप  अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गएको थियो ।

घटनाको प्रकृति हेर्दा मृतकको शरीरमा चोटपटक देखिएकोले हत्या भएको हुन सक्ने आशङ्का गरी डग स्नाफिङ समेत गरिएको थियो । घटनालाई सूक्ष्म रूपले अनुसन्धान थालेको मोरङ प्रहरीले घटनामा संलग्नलाई आइतबार बिहान १० बजे पक्राउ गर्न सफल भएको हो ।

आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुङ्गा लगायतका औजारहरूले ठाउँकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।