इटहरी : नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका हुन् ।
चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड (४२ प्रतिशत) र पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड (२१.२ प्रतिशत) बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड (१२.८ प्रतिशत) र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड (२४ प्रतिशत) बजेट प्रस्तुत भएको छ ।  
आगामी आवका लागि सबैभन्दा धेरै राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड आय हुने अर्थमन्त्री शर्माले बताएका छन् । त्यसमध्ये सङ्घीय सरकारले चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९, पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड र वित्तीय व्यवस्था तर्फ १ खर्ब ८९ अर्ब खर्च गर्न पाउने भएको छ । 
बजेटमा प्रदेश १ :
सङ्घीय सरकारले खर्च गर्ने गरी प्रदेश १ का विभिन्न आयोजना सञ्चालन हुने भएका छन् । सरकारले सुनसरीको चतराबाट सगरमाथा क्षेत्र दुई घण्टामा पुग्ने गरी द्रुतमार्ग निर्माण गर्ने भएको छ । जसलाई पर्यटनको विकासको आधारको रूपमा अगाडी सारिएको छ । सिलगुढी देखि चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माणका लागि बजेट विनियोजन भएको छ । 
पूर्व पश्चिम सडकसँग जोड्ने झापाको भद्रपुर जोड्ने सडकको स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ । इलामको सन्दकपुर र झापाको पृथ्वीनगरमा पूर्वाधार विकासका लागि समेत बजेट विनियोजन भएको छ । रानी विराटनगर धरानको सडकको स्तरोन्नति यसै वर्षमा निर्माण सकिने भएको छ । 
तमोर कोरिडोर र मेची कोरिडोर सडक निर्माण गर्ने देखी सुनसरीको चतरा, माझिटार हुँदै ताप्लेजुङको दोभान जोड्ने तमोर कोरिडोर सडक निर्माणको लागि बजेट विनियोजन भएको छ । झापाको केचनाबाट ताप्लेजुङको ओलाङचुङगोला जोड्ने मेची कोरिडोर सडक स्तरोन्नति गरिने भएको हो । 
विराटनगर धरान ट्रमा यातायातको सम्भाव्यता अध्ययन गर्ने देखी कोसीको चतरामा जल यातायातका लागि टर्मिनल बनाउने योजना अगाडी सारिएको छ। सुनसरीको सुनसरी खोला उकास क्षेत्रमा बगर खेती तथा वृक्षारोपण गरिने भएको छ। धरानमा डाटा सेन्टरका लागि सम्भाव्यता अध्ययन गरिने र विराटनगर महानगरपालिकाको केसलीया कोरिडोर निर्माण कार्य अगाडी बढाइने भएको छ। 
उदयपुरमा विमानस्थलको निर्माण प्रक्रिया अगाडी बढाइने र मनमोहन प्राविधिक विश्वविद्यालयलाई थप स्तरोन्नति गरिने भएको छ । हाल बन्द अवस्थामा रहेको विराटनगर जुट मिललाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याइने बजेटमा उल्लेख गरिएको छ । दमक औद्योगिक क्षेत्र निर्माण कार्यलाई निरन्तरता दिँदै पूर्व-पश्चिम रेल मार्गका लागि पनि बजेट विनियोजन गरिएको छ।