धरान : हिजोदेखि बेपत्ता तारा एयरको जहाज टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको छ । जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर दुर्घटना भएको हो ।

'स्थानीय शेर्पाहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।'

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्विनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि आज बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो । मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले दुर्घटनाग्रस्त विमानको तस्बिर पठाएका हुन् ।