धरान : सुनसरीको इटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा पेस्तोल सहितका व्यक्तिहरूले लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा इटहरी उप–महानगरपालिका–४ का १९ वर्षीय धन बहादुर राई, २७ वर्षीय टिका राई र इटहरी–५ का २८ वर्षीय धन बहादुर राई रहेका छन् । उनीहरूको साथबाट प्रहरीले लेबल नलागेको लागुऔषध २४ एम्पुल र मेडइन युएसए लेखिएको पेस्तोल १ थान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको छ ।

लागुऔषध तथा पेस्तोल सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।