विराटनगर : उच्च अदालत विराटनगरले कोरोना बिमाबापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । 

उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश जगनारायण प्रधानको संयुक्त इजालासले कोरोना बिमाको रकम भुक्तानी गर्न बिमा कम्पनीको नाममा सोमबार परमादेश आदेश गरेको छ । 

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा बिमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरेको थियो । उक्त रिट दायर निवेदकको पक्षमा परमादेश आदेश आएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए । 

सोमबार भएको पेशीमा नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको तर्फबाट अधिवक्ता मनोज कुमार आचार्यले पैरवी गरेका थिए । विपक्षीको तर्फबाट पाँच जना कानुन व्यवसायीहरूले बहस गरेका थिए । बादी र प्रतिवादीको तर्फबाट बहस सकिएपछि उच्च अदालतले बिमा गर्ने कम्पनी अजोड इन्स्योरेन लिमिटेडलाई बिमा रकम भुक्तानी गर्न परमादेश आदेश गरेको सूचना अधिकारी सुवेदीले बताए । पाँच दिनपछि आदेशको पूर्ण पाठ आउने उनले जानकारी दिए ।

अधिवक्ता आचार्यले निवेदकको पक्षमा भएको फैसला कानुन बमोजिम भएको बताएका छन् । ‘सरकारलाई देखाएर बिमा कम्पनी उम्किने अवस्था रहँदैन । कम्पनीले बिमा गरेको हो । बिमा अभिलेखमा अरू कुनै सर्तहरू उल्लेख पनि भएको छैन,’ उनले भने, ‘त्यही भएर बिमा गरेको भुक्तानी दिने जिम्मेवारी अजोड इन्स्योरेन लिमिटेडको हो ।’ 

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले बिमा सम्झौता गर्ने अजोड इन्स्योरेन्स सहित बिमा समिति, अर्थ मन्त्रालय र नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको थियो ।

नेपाल पत्रकार महासङ्घ र अजोड इन्स्योरेन्स कम्पनीबिच द्विपक्षीय सम्झौता भई मोरङका २ सय जनाभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको बिमा गरिएको थियो । त्यसमध्ये ५१ जना बेमितमा कोरोना सङ्क्रमण भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए । बिमा गरेका मध्ये ३१ जनाले भुक्तानी पाउन बाँकी रहेको छ ।

कम्पनीको नियम अनुसार प्रिमियम तिरेर बिमा गरेका बीमितलाई भुक्तानी दिन नसकिने भन्ने जवाफ आएपछि महासङ्घले परमादेश माग गर्दै रिट दायर गरेको हो । 

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटमा कोरोना बिमा गर्न प्रिमियमको आधार रकम भुक्तानी गरिदिने घोषणा गरेपछि लाखौँ नागरिकले कोरोना बिमा गराएका थिए । 

अहिलेसम्म झन्डै ३५ हजार सङ्क्रमितले बिमा दाबी भुक्तानी लिएका छन् भने ७० हजारभन्दा बढीले अझै भुक्तानी पाउन सकेका छैनन् ।