झापा : झापाको साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीय अम्बिका गिरी पछिल्ला १४ वर्षदेखि सम्पर्कविहीन बनेकी छन् । भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी उनी अहिलेसम्म पनि परिवारको सम्पर्कमा आएकी छैनन् । 

झापाको भद्रपुरस्थित सगरमाथा मावि पढ्दै गर्दा भद्रपुर नगरपालिका– २ कि गिरी १६ वर्षकी हुँदा २०६४ सालमा आफ्नै छिमेकी तारादेवी लिम्बुले गाउँघरकै अन्य महिलाहरूलाई भारतको बाटो हुँदै कुवेत पुर्‍याएकी थिइन् । पठाउने एजेन्ट तारादेवीको पनि ५ वर्षअघि हत्या भइसकेको छ । अब कसरी छोरीलाई खोज्नु भन्दै अम्बिकाकी ७३ बर्षीया आमा चन्द्रमाया यति बेला सरोकारवालासँग आग्रह गरिरहेकी छन् । 

हुन त सरकारले वैदेशिक रोजगारीमा जानेहरूका लागि विभिन्न नियम ल्याए पनि त्यसको कार्यान्वयन पक्ष फितलो बन्दा यस्ता समस्या उत्पन्न हुने गरेको झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणीन्द्र दाहाल बताउँछन् । अहिले अम्बिकाको खोजीका लागि आफूहरूले पहल गरिरहेको दाहालले बताए । 

कुवेत पुगेकी अम्बिका ६ महिनासम्म परिवारको सम्पर्कमा थिइन् । कुवेतको साल्मियाबाट अपर्णा थापाको नाममा छोरीले पिओ बक्स ७५४५, इ.ओढी. नम्बर २२०८६ लेखिएको ठेगानाबाट तीन पटक घरमा चिठ्ठी र आफ्नो फोटो पठाएकी थिइन् । त्यसपछि छोरी एकाएक सम्पर्कविहीन बनेको अम्बिकाकी आमा चन्द्रमायाले सुनाइन । 

जेठा छोरा पनि बेपत्ता

चन्द्रामायाको छोरी मात्र नभई जेठो छोरा कुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता छन् ।  स्थानीय किचकबध मेलाको भोलिपल्ट हिँडेको जेठो छोरा कुमार अहिलेसम्म सम्पर्कमा नआएको आमा अम्बिकाको भनाइ छ । 

७३ बर्षीया अम्बिका हाल कान्छा छोरा विमलसँग बस्दै आएकी छन् । २ सन्तान बेखबर बन्दाको पीडा बोकेर चन्द्रमाया यति बेला कान्छी छोरी अम्बिकाको खोजीमा भौतारिरहेकी छन् । आफ्ना सन्तान खोजी गरिदिन अम्बिकाले सबैसँग अपिल पनि गरेकी छन् ।