धरान : परिवर्तनका लागि सामाजिक अभियानले १ सय ३८ जना विद्यार्थीहरूका लागि निःशुल्क ब्लड ग्रुपिङ्ग क्लिनिक सञ्चालन गरेको छ । 

महेन्द्र बहुमुखी क्याम्पसका बिबिएमका विद्यार्थीहरूले आयोजना गरेको बिजनेस एक्स्पो-२०७९ मा अभियानले सो कार्यक्रम गरेको हो । अभियानका अध्यक्ष विष्णु बरालका अनुसार विद्यार्थीहरूलाई उक्त कार्यक्रममा रक्तदान सम्बन्धी अभिमुखीकरण समेत दिइएको थियो । 'रक्तदान कार्यक्रम गर्नु भन्दा रक्तदानको लागि अभिप्रेरित गर्न महत्त्वपूर्ण हो, त्यसैले हामीले आज विद्यार्थीहरूको निःशुल्क ब्लड ग्रुपिङ्ग गर्‍यौ र रक्तदान सम्बन्धी जानकारी पनि दियौँ' बरालले भने । 

नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा अभियानका अभियन्ताहरू त्रिभुवन बराल, जेनिश शाक्य, निशान नेपाल, हेम ढकाल, इनि शाक्य, स्वस्तिका तामाङको सहभागिता रहेको थियो । 

परिवर्तनका लागि सामाजिक अभियानले स्वास्थ्य क्षेत्रमा विगत  १० महिनादेखि सामाजिक कार्य गर्दै आइरहेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहेको छ । विभिन्न वडामा कार्यक्रम आयोजना गर्ने लक्ष्य अनुरूप १६ औँ संस्करण सम्म आयोजना भएको उक्त कार्यक्रम हरेक महिनाको पहिलो र तेस्रो शनिवार आयोजना हुने गर्दछ । यस पटक यही ज्येष्ठ २१ गते शनिवार सिद्धि नेवा: परिषद्, धरान–७ सँगको सहकार्यमा १७ औँ संस्करणको निःशुल्क स्वास्थ्य क्लिनिक आयोजना हुदैछ । 

रक्तदान गर्दा के फाइदा हुन्छ ? 

मुटुका लागि फाइदाजनक

रक्तदान मुटुका लागि राम्रो मानिन्छ । नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई ह्दयघातको खतराबाट पनि टाढा राख्छ । रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ । 

नयाँ रक्तकोशिका बन्छ

शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्त्वपूर्ण भूमिका हुन्छ । नियमित रूपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 

क्यालोरी खपत हुन्छ

एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ । यदि नियमित रूपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्दैन । 

क्यान्सर हुने खतरा कम हुन्छ

क्यान्सर जस्ता खतरनाक रोगबाट बचाउनका लागि नियमित रूपमा रक्तदान गर्नुपर्छ । नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुन्छ । रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।