धरान : बीपी कोइराला स्वास्थ्य विज्ञानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा विभिन्न पदहरूमा नियुक्ति गरेका छन् ।

प्रतिष्ठानको सूचना प्रवाहलाई अझ बढी प्रभावकारी बनाउन प्रवक्तामा एनेस्थेसियोलोजी विभागकी प्रा.डा.कृष्णा पोखरेललाई नियुक्त गरिएको तथा अस्पताल सेवालाई अझ बढी चुस्त र दुरुस्त बनाउन एक जना डेपुटी अस्पताल निर्देशक तथा दुई जना सहायक अस्पताल निर्देशकको कार्यभार सुम्पिइएको प्रतिष्ठानले जानकारी दिएको छ ।

डेपुटी अस्पताल निर्देशकमा एनेस्थेसियोलोजी विभागका एसोसियट प्रोफेसर डा.जगत् नारायण प्रसादलाई कार्यभार सुम्पिइएको छ भने अस्पताल सेवा अन्तर्गत वार्डहरू, ओ.टी र इमर्जेन्सी सेवाहरूको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित सञ्चालनार्थ सहायक अस्पताल निर्देशकमा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा.लोकेश शेखर जयसवाललाई नियुक्त गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । 

अस्पताल सेवा अन्तर्गत ओपीडी,डेन्टल ओपीडी, ल्याब सेवाहरू र रेडियोलोजी सेवाहरूको रेखदेख, सुपरिवेक्षण, विकास, विस्तार एवं सुव्यवस्थित सञ्चालनार्थ अर्का सहायक अस्पताल निर्देशकमा प्रोस्थोडोन्टिक्स विभागका असिस्टेन्ट प्रोफेसर डा.इन्द्र लिम्बुलाई कार्यभार सुम्पिइएको छ । उनीहरू तिनैजनाको कार्यकाल मिति २०७९।०२।१८ गते देखि लागु हुने प्रतिष्ठानका सह-प्रवक्ता डा. चूडामणि पोखरेलले जनाएका छन् ।