झापा : झापाका विभिन्न स्थानहरूबाट चोरी भएका मोटरसाइकल सहित चोरीमा संलग्न रहेका ८ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

केही दिन देखि झापाका विभिन्न स्थानहरूबाट मोटरसाइकल हराएको भन्ने सूचना पाए सँगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाइकलहरुको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र  इलाका प्रहरी कार्यालय अनारमनिको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरूमा टिकुली नगरपालिका–५ सप्तरीका २७ वर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ वर्षीय समीर मिया, बिर्तामोड नगरपालिका–५ का १८ वर्षीय विष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका–३ का १९ वर्षीय कुमार राजवंशी तथा १८ वर्षीय सुमन बिहारी र इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ रहेका छन् । 

पक्राउ परेको यो समूहले अशोक विहारीको अर्जुनधारा नगरपालिका–८ कदमगाछीमा रहेको ग्यारेज भित्रबाट र अर्जुनधारा – १० को अर्को मोटरसाइकल ग्यारेजबाट तथा झापाको अन्य विभिन्न  स्थानबाट मोटरसाइकल चोरी गरेका थिए । 

यसरी चोरी भएका १२ थान मोटरसाइकल सहित पक्राउ परेको यो समूहको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनिबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।