धरान ; धरानबाट १४ वर्षीय बालिका रशिका लिम्बू एक हप्तादेखि बेपत्ता भएकी छिन् ।  

धरान–५ मा आमासँग बस्दै आएकी रशिका बुवाको घर जाने भनेर हिँडेको र सम्पर्कविहीन भएको उनकी आमा अर्पना चेम्जोङले बताइन् ।

बालिकाकी बुवा आमा विगत १०–१२ वर्षदेखि छुट्टाछुट्टै बस्दै आएको र बालिका आमासँग बस्ने गरेकी थिइन् । गत फागुन १५ गते बालिकाका बुवा हस्तबहादुर साम्बाले जन्म दर्ता ल्याइदिएर आएदेखि छोरी बुवासँग पनि जाने गरेको आमाले जानकारी दिइन् ।

बुवाले स्कुटर किनिदिने, हजुरआमाको सुनको हार दिने प्रलोभन देखाएर छोरीलाई आफूदेखि लगेको आमा अर्पनाले बताइन् । छोरी धरान–१९ स्थित आवर होम बोर्डिङ स्कुलको कक्षा ७ मा अध्ययनरत थिइन् । बुवाले छोरीलाई फाइनल परीक्षा समेत दिनका लागी धरान नपठाएको र आफूले बारम्बार सम्पर्क गर्दा छोरीसँग फोनमा बोल्न नदिएको आमाको गुनासो छ । 

अर्पना र हस्तबहादुर विवाह गरेको २÷३ वर्षमा नै छुट्टिए । अर्पना छोरी लिएर माइतमा नै छोरीको लालन पालन गर्दै बसेकी थिइन् । गत फागुन १५ गते छोरीको जन्म दर्ता लिएर छोरी खोज्दै हस्तबहादुर आइपुगेका थिए । ‘छोरीले बाउसँग जान्छु १/२ दिन बस्छु भनेपछि मैले पनि रोकिन तर अहिले मेरो छोरी बेपत्ता बनाइदिए आमा अर्पनाले बताइन् ।’

उनका श्रीमान् हस्तबहादुर कान्छी श्रीमती सहित लारुम्बामा बस्छन् । हस्तबहादुरका दाजु पथरीमा बस्छन् । धरानबाट बुवासँग भेट गर्न पथरी स्थित ठुलो बुवाकोमा जाने गर्थिन् छोरी । स्कुलमा फाइनल परीक्षा आएको थियो । परीक्षा दिनकालागी भनेर छोरी लिन अर्पनाले धरानबाट मान्छे पठाउने भनेपछि उनका बुवाले छोरीलाई राती नै पथरीबाट लारुम्बा लगेको अर्पनाले बताइन् । बीचमा सम्पर्क गर्ने धेरै कोसिस गर्दा पनि छोरीसँग सम्पर्क हुन नदिएको उनको गुनासो छ । 

वैशाख १३ गते छोरीको जन्मदिन परेकोले जन्मदिन मनाउन धरान जाने भनेर पथरीबाट १२ वैशाखमा धरानको गाडी चढेको उनका ठूलोबुवाले बताए  । त्यही दिन देखि रशिका बेपत्ता भएकी हुन् । सोध खोजी गर्दा कतै नभेटिएको र प्रहरीमा उजुरी दिँदा समेत छोरीको अत्तोपत्तो नभएको अर्पनाले बताइन् ।

‘१२ वैशाख पछि घरी सई बोलेको छोरी नखोज भन्दै धम्कि आउँछ, घरी तेरो छोरी बाहुनसँग पोइला गयो भन्दै उसको कान्छी आमाले धम्कि दिन्छ । मेरो एक मात्र सहारा छोरी अहिले बेपत्ता बनाइदिए ।’ जीवनको एक मात्र सहारा रहेकी छोरी पनि बेपत्ता भएपछि अहिले छोरी खोजी गरिदिन इलाका प्रहरी कार्यालय धरान लगायत सम्बन्धित ठाउँमा अर्पना पुगिसकिन् । 

Balika-1Balika-2