झापा : दमक नगरपालिकाका १० वटै नगर स्वास्थ्य केन्द्रबाट ल्याब सेवा सञ्चालनको तयारी भएको छ । 

आधारभूत स्वास्थ्य परीक्षणका लागी स्वास्थ्य केन्द्रबाटै नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले ल्याब सञ्चालनको तयारी भएको हो । 

ल्याब सेवा सञ्चालनका लागी नगर उप प्रमुख रेगिना भट्टराई प्रसाईँले बिहीबार सबै स्वास्थ्य केन्द्रको अनुगमन गरेकी हुन् । अनुगमनका क्रममा कतिपय स्वास्थ्य केन्द्रमा ल्याब सञ्चालनका लागी प्राविधिक जनशक्तिको आवश्यकता रहेको र कतिपयमा जनशक्ति सहित उपकरण पनि आवश्यक रहेको पाईएको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए । अनुगमनका क्रममा उप प्रमुख रेगिना भट्टराईले एक साता भित्रै ल्याब सेवा सञ्चालन गर्ने गरी तयारी थाल्न निर्देशन दिएकी छिन् ।

स्वास्थ्य केन्द्रमा ल्याब सेवा सञ्चालन भए पछि सुगर, जन्डिस, युरिन, स्टुल लगायतका परीक्षण गर्न सकिने दमक ३ मा रहेको नगर स्वास्थ्य केन्द्रका प्राविधिक विक्रम अधिकारीले जानकारी दिए । यसबाट प्राथमिक परीक्षण गरी थप परीक्षण गर्नु परेमा दमक अस्पतालमा रेफर गरिने उनले बताए ।