धरान : प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताएका छन् । 

धरान-४ छोटी मोरङमा ४० फिटको बुद्धको प्रतिमा अनावरण समारोहलाई आइतबार सम्बोधन गर्दै प्रमुख खापुङले पहिले बुद्धलाई लाइट अफ एसिया भनिँदै आएकोमा अहिले आएर लाइट अफ वर्ल्ड भनेर संसारले स्विकार्न थालेको बताए । उनले धरान-४ को छोटी मोरङमा निर्माण भएको ४० फिटको बुद्धको प्रतिमा धरानको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

यहाँ विग थाउसेन्ड बुद्ध भनेर १७५ फिट अग्लो बुद्धको प्रतिमा बन्नुले धरानको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सूर्योदय बुद्ध विहारद्वारा ३५ लाख लागतमा निर्माण भएको बुद्धको प्रतिमाले यहाँको पर्यटन प्रवर्द्धनको सुरुवात भएको बताउँदै प्रमुख खापुङले धरानको जलाधार क्षेत्रको संरक्षण हुने बताए । 

कार्यक्रममा सूर्योदय बुद्ध विहारका प्रमुख भिक्षु मेधङकर स्थविरले धरान ४ को छोटी मोरङमा विग थाउसेन्ड बुद्ध निर्माण हुँदा जलाधार क्षेत्र भनिए पनि यहाँको पानी जलाधार क्षेत्र तर्फ नबग्ने र पूर्व मोहडा भई बग्ने भएकोले यसले जलाधार क्षेत्रलाई असर नगर्ने दाबी गरे । 

कार्यक्रममा पूर्व प्रदेश प्रमुख डा. गोविन्द तुम्बाङले अहिले विश्व अशान्ति भइरहेको बेलामा बुद्धको सन्देश र ज्ञानको अनुसरण गरे शान्ति कायम हुने बताए । उनले यस्तो महत्त्वपूर्ण कार्यक्रममा धराने जनताले विश्वास गरेर अभिमत दिएका धरान उपमहानगरपालिकाका मेयर र उपमेयर कार्यक्रममा उपस्थित नभएकोमा आफूलाई दुःख लागेको बताए । 

कार्यक्रममा धरानकी समाजसेवी सरला कायस्थ, हङकङ नेपाली महासङ्घका पूर्व अध्यक्ष तथा सूर्योदय बुद्ध विहार व्यवस्थापन समितिका अध्यक्ष प्रदीप थापा मगर र नेकपा समाजवादी धनकुटाका अर्जुन राई लगायतले बोलेका थिए ।

Sureyadaya-buddha-6Sureyadaya-buddha-2Sureyadaya-buddha-4Sureyadaya-buddha-3Sureyadaya-buddha-1Sureyadaya-buddha-5