धरान : वराहक्षेत्र-८ पुलाहबाट गए राति ७ थान सखुवाको गोलिया सहित २ जना पक्राउ परेका छन् । 

राष्ट्रिय बन क्षेत्रमा सखुवाको काठ चोरी हुँदै गरेको सूचना प्राप्त भई कुमारखद सव डिभिजन बन कार्यालय, नडाह सशस्त्र वन सुरक्षा पोस्ट, अमाह सिमसार सामुदायिक वनका पदाधिकारी लगायतले खोजी गर्नेक्रममा वराहक्षेत्र-८ पुलाह स्थित गरिमा काष्ठ उद्योग बाहिर बेवारिसे अवस्थामा ७ थान सखुवाको गोलिया फेला परेको सव डिभिजन बन कार्यालय धरानका अधिकृत चन्द्र बर्माले जानकारी दिए ।

मिल बाहिर बेवारिसे अवस्थामा ७ थान सखुवाको गोलिया फेला परेपछि सो मिलबाट भारतको जोगबनी घर बताउने मनोज शाह र उमेश शाहलाई पक्राउ गरिएको छ । 

श्याम भण्डारीले सञ्चालन गरेको गरिमा काष्ठ उद्योग बाहिर बेवारिसे अवस्थामा सखुवाको गोलिया भेटिएपछि आज मिलमा खान तलासी समेत गरिएको छ । अधिकृत वर्माका अनुसार मिल भित्र अरू काठ फेला नपरेको तर मिल बाहिर सखुवाको गोलिया भेटिएकोले अहिले अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका दुई जना माथि पनि अनुसन्धान भइरहेको र उनीहरूलाई सशस्त्र बन सुरक्षा पोस्ट तरहरामा राखिएको छ । फेला परेको सखुवाको गोलिया मुचुल्का गरी जिल्ला वन कार्यालयमा पठाइएको छ ।