विराटनगर : आन्तरिक मामिला तथा कानूनमन्त्री केदार काकीले प्रदेश १ का प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसीले आफ्नो कार्यकालमा शान्ति सुरक्षाका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताएका छन् । 

प्रहरी नायव महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा बढुवा भएका बिसीलाई बिदाइ तथा बधाई ज्ञापन गर्दै मन्त्री कार्कीले प्रहरीसँगै सहकार्य गरेर काम गरेको बताए । 

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले केन्द्रमा रहँदा पनि यहाँका जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गर्दै प्रहरी समायोजनमा सहजीकरण गर्न आग्रह गरे । 

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बिसी, सशस्त्र प्रहरीका एक सहित ६ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । २०४९ साल चैत्र ११ गतेदेखि नेपाल प्रहरी सेवामा लागेका बिसीले गत असार १६ गतेदेखि प्रदेश नं १ प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा प्रदेश सरकारले गरेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे । 

सोही अवसरमा प्रदेश सुरक्षा समितिको बैठक पनि बसेको छ । मन्त्री कार्कीकै अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा खटिएका सुरक्षाकर्मी सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारीलाई धन्यवाद दिनुका साथै बर्षातको समयमा हुन सक्ने जोखिमलाई  मध्यनजर गर्दै त्यसको पूर्व तयारीमा जुटिने निर्णय गरिएको छ ।