धरान : 'घोपा बचाउ अभियान'को आन्दोलनका मागहरू सम्बोधन गर्न गठित कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याहरू सुधार गर्दै छिटो छरितो ढङ्गले गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने माग गर्दै आएको घोपा बचाउ अभियानले सञ्चालन गरिरहेको आन्दोलनको सम्बन्धमा जेठ १६ गते धरान उपमहानगरपालिकाको मेयरको रोहवरमा भएको छलफलको सहमति अनुसार राय सुझाव सहितको प्रतिवेदन पेस गरिएको हो । 
प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार प्रतिष्ठान, धरान उपमहानगरपालिका तथा घोपा बचाउ अभियानका प्रतिनिधि रहने गरी गठित अध्ययन कार्यदलले निरन्तर ७ दिनसम्म विभिन्न सरोकारवालाहरू सँग छलफल एवं परामर्श गरेर मंगलबार प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति प्रा.डा. गुरु प्रसाद खनाललाई आफ्नो प्रतिवेदन बुझाएको हो ।
उक्त प्रतिवेदनमा औँल्याइएका सुझावहरू अध्ययन गरी तत्काल गर्न सकिने कार्यहरू लगायत मध्यकालीन तथा दीर्घकालीन रूपमा सम्पन्न गर्न सकिने कार्यहरूको विस्तृत कार्य योजना पाँच दिनभित्र उपकुलपतिको कार्यालयमा पेस गर्न सम्बन्धित विभाग, शाखा, महाशाखाहरूलाई निमित्त उपकुपतिज्युबाट निर्देशन समेत भएको सह-प्रवक्ता पोखरेलले जानकारी दिए।