धरान : धरानको सर्दु र सेउती खोलाबाट अबैधरुपमा ढुङ्गा गिटी बालुवा निकाल्दै गरेको अवस्थामा ४ वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ । 

धरान उपमहानगरपालिकाको नगर प्रहरी र प्रहरीको संयुक्त टोलीले आज बिहान धरान ११ वानडाडाँ नजिकै सर्दु खोलामा खोलाजन्य बस्तु निकाल्दै गरेको अवस्थामा को २ त १३६४ र को १ त ४५४० नम्बरको सरोज परियारको २ वटा ट्र्याक्टर, को २ त २९१२ नम्बरको राम लिम्बूको ट्र्याक्टर नगर प्रहरी र प्रहरीको टोलीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । 

यसै गरी धरान १५ को महादेव चोक मास्तिर सेउती खोलाबाट को २ त ३१५४ नम्बरको भूपाल बस्नेतको ट्र्याक्टर नियन्त्रणमा लिइएको हो । 

चारवटै ट्र्याक्टरको ४ जना चालक विवेक थापा, निखिल परियार, सौगत घले र भूपाल बस्नेतलाई पनि नियन्त्रणमा लिइएको छ । ट्र्याक्टर अहिले धरान ८ स्थित नगर प्रहरीको कार्यालय रहेको सभागृह परिसरमा राखिएको छ । 

नव निर्वाचित मेयर हर्क साम्पाङको खोला उत्खननमा कडाइ गर्ने निर्देशन दिए सँगै धरानका खोलाहरूमा नदीजन्य पदार्थ उत्खननमा कडाइ गरिएको हो । अव देखि धरानका खोलाहरूमा कुनै पनि सवारी साधन नदीजन्य पदार्थ उत्खननका लागि प्रवेश निषेध गरिएको नगर प्रहरी प्रमुख कोइरालाले बताए । यदि फेरि पनि खोलामा नदीजन्य बस्तु उत्खननका लागि कुनै सवारी साधन र मानिस फेला परे कडा भन्दा कडा कारबाही गरिने धरान उपमहानगरपालिकाले जनाएको छ ।