दमक : नगरपालिकाले पूर्वाधार सेवा उपयोग शुल्क तिर्न जारी गरेको सूचनालाई कतिपयले पटके कर बुझेको भन्दै अब दमकमा पटके कर नरहेको दमक नगरपालिकाका प्रमुख राम थापाले जानकारी दिएका छन्।

पूर्वाधार सेवा उपयोग शुल्क उठाउन अघिको नगर सभाले पारित गरेको कानुन अनुसार सूचना जारी भएको भन्दै बजार क्षेत्र प्रवेश गर्ने बाटोमा बसेर असुल्ने पटके कर भने आगामी आर्थिक वर्षबाट नलिने उनले स्पष्ट पारेका छन्।

पूर्वाधार सेवा उपयोग शुल्कलाई पटके करको रूपमा नबुझ्न आग्रह गर्दै उनले यो नगर सभाबाट पास भएको कानुनलाई नगर प्रमुख वा कसैको आदेशका भरमा हटाउन नसकिने समेत स्पष्ट पारे । नगर सभाबाट पास भएको विषयलाई परिवर्तन गर्न नगरसभामै लगेर बहुमतबाट पास गर्नु पर्ने भएकोले यस विषयमा पनि छलफल गर्न सकिने भन्दै अब कुनै ठेकेदारलाई ठेक्का लगाएर बाटोमा कर असुल्ने काम भने बन्द हुने नगर प्रमुख थापाले  बताए ।

निर्वाचनमा नागरिक समक्ष गरेका वाचा पुरा गर्ने कुरामा आफू प्रतिबद्ध रहेको भन्दै उनले आफू पटके कर हटाउने विषयमा अहिले पनि दृढ रहेको बताए । तर पूर्वाधार उपयोग करलाई पटके करको रूपमा नबुझ्न पनि उनले सबैलाई आग्रह गरेका छन् । 

Damak-Tax