धरान : झापा र इलामबाट लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 
झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका ७ का २२ वर्षीय सुजन गुरुङलाई लागुऔषध ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
यसै गरी इलामको देउमाई नगरपालिका ३  प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका ७ का २० वर्षीय शम्भु लिम्बु र माई नगरपालिका-८ का १८ वर्षीय सुमन लिम्बु रहेका छन् । 
बुधवार दिउँसो नेपालटार-मङ्गलवारे सडक खण्डमा इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट चेकिङमा खटिएको प्रहरी निरीक्षक सहितको टोलीले चेकजाँचको क्रममा प्रदेश १-०३-००१ प १६५५ र को १३ प २१६६ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरूको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।