विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले स्थानीय तहबिनाको सङ्घीय शासन व्यवस्था असफल हुने भएकाले सङ्घीय व्यवस्था बलियो बनाउन स्थानीय तह सफल हुनुपर्ने बताएका छन् । उनले सङ्घीय शासन व्यवस्थाका लागि स्थानीय तहको विशिष्ट महत्त्व भएको उल्लेख गरे ।
प्रदेश नं. १ का स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि स्थानीय सरकार सञ्चालन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन तथा प्रमाणपत्र वितरण समारोहलाई आज सम्बोधन गर्दै  मुख्यमन्त्री राईले सङ्घीयताको जग नै स्थानीय तह भएको बताए । उनले सबै जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै दुई दिने तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले जोस र होस पुर्‍याएर काम गरेको अवस्थामा सफलता प्राप्त हुने बताए । मुख्यमन्त्री राईले क्षमताभन्दा बढीको योजना छनौट गर्ने र टुक्रा टुक्री योजनाका नाम कनिकाझैँ  बजेट छर्ने दुवै काम उचित नहुने धारणा व्यक्त गरे । ‘एउटा प्रसिद्ध भनाइ छ कि, ‘एकैसाथ दश औँलाले उपियाँ मार्न खोजे एउटा पनि मर्दैन’ मुख्यमन्त्री राईले भने–‘सबै काम एकैचोटी गर्छु नभन्नुहोस्, एउटा एउटा काम सक्दै लैजानुहोस् ।’
उक्त अवसरमा मुख्यमन्त्री राईले प्रदेश नं. १ का १३७ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरूलाई भर्खरै निर्वाचित भएकोमा बधाई ज्ञापनसहितको प्रमाणपत्र प्रदान गरेका थिए। तालिम समापनका अवसरमा सहभागीहरूका तर्फबाट खोटाङ जिल्ला साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत, मोरङ जिल्ला उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिनाकुमारी खतिवडाले दुई दिने अभिमुखीकरण आफूहरूका लागि लाभदायक भएको बताए । समापन समारोह प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।