धरान : धरान उपमहानगरपालिकाको बिहीबार बस्न नसकेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक जेठ २९ गते आइतबार दिउसो २ बजे बस्ने भएको छ । 

धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार विहिबारनै अर्को कार्यपालिका बैठकको लागि कार्यपालिका सदस्यहरूलाई पत्राचार गरी सकिएको छ । 

असार १० गते नगर सभा सम्पन्न गर्नका लागि पनि तत्काल कार्यपालिका बैठक बसेर धरानको विकासका लागि जसरी पनि अघि बढ्नुपर्ने भनिइरहेको बेलामा बैठक बस्न नसक्दा धरान उपमहानगरपालिकामा बजेट र योजनामै समस्या हुने सम्भावना बढेको भन्दै आलोचना भइरहेको छ ।

बैठकको बारेमा मेयर हर्क साम्पाङले बिहीबार पत्रकारसँग ७२ घण्टा अगाडी नै बैठकका लागि कार्यपालिका सदस्यहरूलाई आव्हान गर्ने भनेका थिए । सोही अनुसार विहिबारनै कार्यपालिका सदस्यहरूलाई पत्राचार गरी सकिएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले बताए । 

कार्यपालिका बैठकबारे धरान १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रवीण) ले शुक्रवार बिहान आफूले पत्र प्राप्त गरेको बताए । उनले धरान उपमहानगरपालिकामा यो आर्थिक वर्षमा बजेट निर्माण गरेर विकासका कामलाई अघि बढाउनुपर्ने बेलामा कार्यपालिकाको बैठक बसेर अनिर्णयको बन्दी बनाउनु नहुने बताउँदै जसरी पनि असार १० मा नगर सभा सम्पन्न गर्नुपर्ने अध्यक्ष राईले बताए । 

बिहीबार दिउसो २ बजे बस्ने कार्यपालिका बैठकमा मेयर साम्पाङ समर्थकले नगरपालिका गेटमा धर्ना दिएपछि कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेका थिए ।