धरान : तेह्रथुमको लालीगुँरास नगरपालिका–९ बाट चोरीमा संलग्न १ जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–११ घर बताउने ३५ वर्षीय रोशन तामाङ रहेका छन् । तामाङले ज्येष्ठ २५ गते बुधवार दिउसो फेदाप गाउँपालिका–२ तेह्रथुमका प्रेम प्रसाद भट्टराईको घरमा कोही नभएको मौका पारी ढोका फोडी कोठा भित्र काठको बाकसमा राखेको सुनको विभिन्न गरगहनाहरू  ५ तोला, ५ आना र  नगद १ हजार रुपैयाँ  सहित चोरी गरी फरार भएका थिए ।

चोरी भएको सूचना पाए लगतै प्रहरी चौकी ओयाक्जुङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा हिजो बिहान लालीगुराँस नगरपालिका-९ काँडेमा लुकीछिपी बसेको अवस्थामा चोरी भएका सम्पूर्ण गरगहना र नगद सहित तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका तामाङको  जिल्ला अदालत तेह्रथुमबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।