धरान : सुनसरीको इटहरी उप–महानगरपालिका-९ मा रहेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका-९ सिन्धुपाल्चोकका २३ वर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका-४ नुवाकोट घर भई काठमाण्डौको टोखा बस्ने १९ वर्षीय सन्तोष मगर रहेका छन् ।

उनीहरूले यही ज्येष्ठ १५ गते राती मोबाइल पसलको सटर फोडी ३ लाख बरावरको विभिन्न कम्पनीको मोबाइलहरू चोरी गरेका थिए । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकीछिपी बसेको अवस्थामा चोरी भएको ३ वटा मोबाइल सेट सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको शुक्रवार सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।