धरान : इलाम र पाँचथरमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 

शुक्रवार बेलुका साढे ७ बजे इलामको सूर्योदय नगरपालिका ७ सुकेपोखरी स्थित मेची  राजमार्गमा झापाबाट फिक्कल तर्फ जाँदै गरेको प्रदेश न. १–०१–००१ च ९१९३ नम्बरको स्कारपियो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय  मिटर तल खसी दुर्घटना भएको थियो । सो दुर्घटनाबाट स्कारपियो गाडीमा सवार घाइते भएका ६ जना मध्ये झापाको बिर्तामोड नगरपालिका ३ बस्ने ५७ वर्षीय ईश्वरी प्रसाद खरेलको विएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको हो । 

अन्य घाईतेहरुमा गाडी चालक झापा बिर्तामोड  नगरपालिका-५ बस्ने ५० वर्षीय गणेश  पराजुली, बिर्तामोड-४ का ४५ वर्षीय एकराज विष्ट, बिर्तामोड-४ का ४५ वर्षीय डिल्ली बस्नेत, बिर्तामोड-३ का ४७ वर्षीय तस बहादुर प्रधान र बिर्तामोड-४ का ५३ वर्षीय सन्तोष श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी हिजै राती सवा ९ बजे पाँचथर फालेलुङ गाउँपालिका-३ नाम्लोवा स्थित भित्री कच्ची सडक खण्डमा  पञ्चमुखी देखी थोक्लेवुङ तर्फ जाँदै गरेको प्र.१–०२–००३ त १८५४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडक देखी अन्दाजी १० फिट तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक सोही स्थान बस्ने २२ वर्षीय सुरेश साँवालाई ट्याक्टरले किची घट्नस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।