इटहरी : इटहरी उपमहानगरपालिकाको नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । शुक्रवार दिउँसो बसेको बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । जसमा विभिन्न समिति गठन गर्ने देखी रकमान्तर गरेर बजेट कार्यान्वयन गर्ने सम्मका निर्णय भएका छन् । 
बैठकको अध्यक्षता गरेका नवनिर्वाचित मेयर हेमकर्ण पौडेलले सम्पूर्ण जनप्रतिनिधि लाई बधाई तथा निर्वाचन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । विगत ५ वर्षमा भौतिक पूर्वाधारमा राम्रो काम भएको स्मरण गराउँदै उनले अब सामाजिक र आर्थिक विकाश मार्फत समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिए । जनताको मुद्दामा जोडिएर काम गर्नुपर्ने बताएका उनले समिति श्रोत साधनमा प्रभावकारी कार्यक्रम मार्फत नयाँपन दिनुपर्ने धारणा राखे । 
बैठकले स्थानीय सरकार सञ्चालन ऐनले तोके अनुसार नै उपमेयर सङ्गीता चौधरीको संयोजकत्वमा आन्तरिक राजस्व परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । राजस्व शाखा प्रमुख सदस्य सचिव हुने गरी प्रमुख प्रशासकीय अधिकृत सम्मीलित ७ सदस्यीय समिति गठन भएको हो । 
मेयर पौडेलको संयोजकत्वमा श्रोत अनुमान तथा बजेट निर्धारण समिति गठन भएको छ । उपमेयर सहसंयोजक, प्रमुख प्रशासकीय अधिकृत सदस्य र बाकी ४ जना कार्यपालिका सदस्यलाई सो समितिमा समावेश गरिएको छ । उपमेयर चौधरीकै संयोजकत्वमा बजेट तर्जुमा तथा कार्यक्रम समिति गठन भएको छ । विभिन्न ५ समितिका संयोजक सदस्य रहने गरी प्रमुख प्रशासकीय अधिकृत सम्मीलित समिति गठन भएको हो । जसको सदस्य सचिवमा योजना शाखाका प्रमुख रहने निर्णय भएको हो ।
त्यससँगै विभिन्न ५ वटा समिति गठन भएका छन् । त्यसमध्ये पनि समाजीक विकाश समितिको संयोजक बहुमतको प्रक्रिया द्वारा टुङ्गो लगाइएको हो । नेकपा एमाले बाट कार्यपालिका सदस्य चयन भएका प्रमोद शेर्पालाई समिति संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । 
त्यस्तै पूर्वाधार विकाश समितिमा मन बहादुर विश्वकर्मा, आर्थिक विकाश समितिमा दिपा राई, वातावरण तथा विपद् व्यवस्थापन समितिमा श्री नारायण चौधरी, सुशासन तथा संस्थागत विकाश समितिमा भिमा देवी राईको संयोजकत्वमा समिति गठन भएको छ ।  
वडाको सिफारिसमा परेका १५ वटा योजनाहरू संशोधन भएका छन् ।  त्यससँगै योजना सफल बनाउन ११ औँ नगर सभाले निर्णय गर्नेगरि विभिन्न शीर्षकमा रकमान्तर गर्ने निर्णय भएको छ । 
एसियाली विकाश बैङ्कले ल्याएको पूर्वी सहरी कोरिडोर लागि उपमहानगरपालिकाले समन्वय र सहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।