सुनसरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान सुनसरीको आयोजनामा दुई दिने पाठ्यक्रम अभिमुखीकरण कार्यशाला सुरु भएको छ । इटहरीमा आजबाट सुरु कार्यशाला भोलिसम्म चल्ने हिसान सुनसरी अध्यक्ष सागरप्रसाद भट्टराईले जानकारी दिए । 
कार्यशालामा कक्षा एघार र बाह्र अन्तर्गत अनिवार्य विषयहरू नेपाली, अङ्ग्रेजी, गणित र सामाजिक विषयका शिक्षकहरूलाई पाठ्यक्रम अभिमुखीकरण गराइने भट्टराईले जानकारी दिए। अभिमुखीकरण कार्यशालामा सुनसरीका निजी तथा सामुदायिक विद्यालयका २-२ जना गरी जम्मा १ सय ५० जना विषयगत शिक्षक शिक्षिकाको सहभागिता रहेको छ । 
कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरूलाई पाठ्यक्रम विकास केन्द्रका प्रशिक्षकहरू डा. वामदेव अधिकारीले अनिवार्य अङ्ग्रेजी, इन्दु खनालले अनिवार्य नेपाली, हेमराज खतिवडाले सामाजिक र जगन्नाथ अधिकारी तथा केशवराज फुलाराले गणित विषयको सहजीकरण गर्ने हिसान सुनसरीका सचिव हेमन्त भण्डारीले जानकारी दिए । 
कार्यक्रममा शैक्षिक गुणस्तर उकास्न सरकारी प्रयास पर्याप्त नभएको बेला निजी विद्यालयहरूको सङ्गठनबाट यस्तो कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको हिसानका केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरेले बताए ।