धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । 
वैशाख ३० को स्थानिय तहको निर्वाचनबाट निर्वाचित भएका नवनिर्वाचित मेयर, उपमेयर र कार्यपालिका सदस्यहरूको पहिलो कार्यपालिका बैठक जेठ २३ गते बसेकोमा नदीजन्य बस्तुको उत्खनन सम्बन्धीको एजेन्डामा सहमति नभएपछि समय अभावको कारण भन्दै जेठ २६ गतेलाई कार्यपालिका बैठक आव्हान गरिएको थियो । २६ गते धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा केही समुहले मेयरको समर्थन जनाउँदै धर्ना दिएपछि कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेका थिए । त्यसपछि जेठ २९ गते कार्यपालिका बैठक बस्ने निर्णय अनुसार आइतबार विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सौहर्दपुर्ण तरिकाले कार्यपालिका बैठक सम्पन्न भएको हो ।
आइतबार बसेको बैठकले ११ वटा प्रस्तावहरू माथि छलफल गरी निर्णय गरेको छ । बैठकमा कार्यपालिका सदस्यहरूको गणपूरक उपस्थिति रहेको भन्दै बैठक सुचारु गर्ने निर्णय गरिएको थियो । बैठकले गएको जेठ २३ गते बसेको पहिलो कार्यपालिका बैठकको समीक्षा गर्दै अघिल्लो बैठकमा ७ वटा प्रस्तावहरू माथि छलफल भएको निर्णय गरी पारित गरिएको र कार्यान्वयन पनि भएको समीक्षा गरिएको छ । यसैगरी धरान उपमहानगरपालिकाको स्वामित्वमा रहेका भवन, टहरा तथा पार्किङ निजी क्षेत्रहरूलाई ठेक्का लगाई राजश्व सङ्कलन भइरहेकोमा यसरी ठेक्कामा दिइएका संरचनाहरूको धरान उपमहानगरपालिका आफैले सिधै बहालमा लगाएर राजश्व वृद्धि हुने देखिएकोले त्यस्ता भवन, टहरा र पार्किङको आफै कर सङ्कलन गर्ने निर्णय गरेको छ । 
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषी र शिक्षा, स्वास्थ्य, खेलकुदलाई आधार बनाउने निर्णय पनि भएको छ । यस्तै धरान उपमहानगरपालिकाको प्रवक्तामा सूर्यबहादुर भट्टराई लाई तोक्ने निर्णय बैठकले गरेको छ । धरान उपमहानगरपालिकामा स्थानिय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको परिचयात्मक बैठक आगामी असार २ गते सुनसरी उद्योग वाणिज्य सङ्घमा गर्ने निर्णय पनि बैठकले गरेको छ । 
धरान उपमहानगरपालिकाको न्यायिक तथा अर्धन्यायिक निकायहरूमा फिराद गर्नुपर्दा नगर कार्यपालिका विरुद्ध परेका फिरादहरूको प्रतिरक्षा सम्बन्धी सम्पूर्ण कारबाही गर्न नगरप्रमुखलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ। 
बैठकले विषयगत समितिहरूको सदस्यहरू समेत तोकेको छ । जसमा आर्थिक विकास समितिको सदस्य तर्फ नेत्रप्रसाद काफ्ले १३ नम्बर वडाध्यक्ष, विद्या शाक्य ३ नम्बर वडाध्यक्ष, विवेक राई १० नम्बर वडाध्यक्षलाई तोकिएको छ । यसैगरी सामाजिक विकास समितिको सदस्यमा मनप्रसाद लिम्बु ५ नम्बर वडाध्यक्ष, यज्ञमणि आचार्य १ नम्बर वडाध्यक्ष र धनबहादुर राई ८ नम्बर वडाध्यक्षलाई तोकिएको छ । 
यस्तै पूर्वाधार विकास समितिको सदस्यमा मुरारी भट्टराई १६ नम्बर वडाध्यक्ष, पूर्णबहादुर लिम्बु १९ नम्बर वडाध्यक्ष र टङ्कबहादुर राई १२ नम्बर वडाध्यक्षलाई तोकिएको छ । यसैगरी बन, वातावरण तथा विपद् व्यवस्थापन समितिको सदस्यमा पदम लिम्बु २० नम्बर वडाध्यक्ष, धनबहादुर राई ४ नम्बर वडाध्यक्ष र दिनेश गजमेर कार्यपालिका सदस्यलाई सदस्य तोकिएको छ । 
सुशासन तथा संस्थागत विकास समितिको सदस्यमा मुरारी भट्टराई १६ नम्बर वडाध्यक्ष, रमेश राई २ नम्बर वडाध्यक्ष र रविन गुरुङ कार्यपालिका सदस्यलाई तोकिएको छ । विषयगत समितिको संयोजक २३ गतेकै बैठकले तोकिसकेको थियो । 
यसैगरी मेयर हर्क साम्पाङको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय भएको छ । धरान-१५ को चोकको नामकरण सम्बन्धमा धरान-१५ का वडाध्यक्ष नरेश  इङवारामसंग परामर्श गरेर निर्णय गर्ने सहमति भएको छ । 
धरान उपमहानगरपालिकाको बर्खे अधिवेशन आर्थिक वर्ष २०७९/०८० को नगरसभा असार ८ गते आव्हान गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । पहिलो कार्यपालिका बैठकमा निकै चर्काचर्की भएपछि यस भन्दा अघिको जेठ २६ गते बैठक बस्न नसकेपछि यो बैठक कस्तो हुने हो भन्ने बारेमा सबैको चासोको विषय बनेको थियो। आइतबारको बैठक सौहर्दपुर्णरुपमा सबै निर्णय पारित गर्दै सम्पन्न भएको छ ।
Nirnaya-1 4Nirnaya-2 2