धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्राविधिक टोली सहित सोमबार धरान-६ को सेहरा र धरान-११ स्थित सर्दु खोलाको अनुगमन गर्न पुगेका छन् । 

आइतबार बसेको कार्यपालिका बैठकमा धरान-६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले सेहरा खोलाको समस्या राखेका थिए । उनले सेहरा खोलामा आउने बाढीले खोलामा ढुंगा गिट्टी थुप्रिएर जमिन भन्दा अग्लो हुन थालेकोले तत्काल च्यानलिङ गर्नुपर्ने बताएका थिए । उनले खोलाको अनुगमन गर्न मेयर र उपमेयरलाई आग्रह पनि गरेका थिए ।

त्यही अनुसार आज मेयर साम्पाङले धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ र योजना महाशाखाका प्रमुख किरण भुजेल सहित पानमाराको तल्लो पुल देखि माथिल्लो पुल सम्म सेहरा खोलाको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा सो क्षेत्रको खोलाको अवस्थाको बारेमा अध्ययन गरी अध्ययन प्रतिवेदन तत्काल तयार गरी बुझाउन मेयर साम्पाङले निर्देशन समेत दिए भने च्यानलिङ गर्नुपर्ने र स्पर लगाउनुपर्ने ठाउँमा तत्काल लगाउन पनि निर्देशन दिएका छन् ।

खोला अनुगमनमा धरान-६ का जनप्रतिनिधिहरू, पानबारी सामुदायिक बनका पदाधिकारी र खोला क्षेत्रका स्थानियबासीहरुको उपस्थिति रहेको थियो । 

सेहरा खोलाको अनुगमन पछि मेयर साम्पाङको टोलीले पानमाराको सेहरा खोलाको पुल देखि चोक्टि सम्मको मदन भण्डारी राजमार्गको समेत अनुगमन गरेका छन् । सडक निर्माणको क्रममा सडकमा ठुला खाल्डाखुल्डी तत्काल पुर्न पनि निर्देशन दिएका छन् । 

यसैगरी सोमबार नै धरान-११ को सहरी स्वास्थ्य केन्द्र देखि २ सय मिटर तल र माथि सर्दु खोलाको मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाले अनुगमन गरेका छन् ।

सो क्षेत्रमा पनि खोला नियन्त्रण र धरान-११ र २० नम्बर वडा दुवै तिर खोलाले क्षति नगर्ने गरी स्पर लगाउने निर्देशन दिएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।  

Khola-Anugaman-1Khola-AnugamanKhola-Anugaman-3