धरान : महुली लघुवित्त वित्तीय संस्थाले देशभरमा रहेका शाखा कार्यालय मार्फत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। जेठ ३० गते सोमबार नवौँ वर्ष पुरा गरी दशौँ वर्षमा प्रवेश गरेको अवसरमा महुलीले सातै प्रदेशमा रहेको आफ्ना शाखा कार्यालयहरू मार्फत वृक्षारोपण गरेको हो । संस्थाको पञ्चवर्षीय योजना अन्तरगत वातावरण संरक्षण तथा कार्बन उत्सर्जन न्यूनीकरणकालागि विभिन्न प्रजातिका १ हजार ५ सय भन्दाबढि बिरुवाहरू रोपिएको महुली लघुवित्तले जानकारी दिएको छ ।
स्थानीय निकायका नवनिर्वाचित जनप्रतिनिधि, स्थानीय प्रशासन, वन उपभोक्ता समितिका सदस्यहरू, संस्थामा आबद्ध सदस्यहरू र संस्थामा कार्यरत कर्मचारीहरूको सहभागितामा देशभरिका विभिन्न विद्यालय परिसर, मठमन्दिर आसपास, सार्वजनिक स्थानहरू र सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले सम्पूर्ण जीवजन्तु, समाज र विश्व वातावरणलाई नै प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने वृक्षारोपण कार्यक्रम हरेक वर्ष गरिने जानकारी दिए ।
यस्तै संस्थाका अध्यक्ष प्रभुनारायण चौधरी तथा विद्यालय प्रशासनको उपस्थितिमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६, गोरगामस्थित रुद्र माध्यमिक विद्यालयमा ६ लाख बराबरको खानेपानी तथा आधुनिक शौचालय निमार्ण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष चौधरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरिएको शौचालय र खानेपानीले विद्यार्थी तथा उनीहरूको परिवारलाई स्वस्थ रहन मद्दत पुग्ने बताए । आगामी दिनहरूमा पनि निरन्तर सामाजिक कार्य रहेको अध्यक्ष चौधरीको भनाइ थियो ।
वार्षिक उत्सवकै अवसरमा केन्द्रीय कार्यालय रहेको सप्तरीको अग्नीसरवण–६, वडा कार्यालयलाई फोहोर व्यवस्थापनको लागि २० वटा डस्टवीन उपलब्ध गराएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुलीले सातै प्रदेशका ३४ जिल्लामा ६४ वटा शाखा कार्यालयहरू मार्फत ७७ हजार सदस्यहरूलाई प्रत्यक्ष लघुवित्त सेवा प्रवाह गर्दै आएको छ ।
mahuli-plantation-2
mahuli-plantation-3