धरान : मोरङ र ओखलढुङ्गामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । 

मोरङको विराटनगर महानगरपालिका-१४ रानी-विराटनगर सडक खण्डमा अनटेस्ट बुलेट मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ८ बजे  विराटनगर तर्फ जाँदै गरेको सो मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका पैदल यात्री स्थानीय ६० वर्षीय मजेबुल मियालाई ठक्कर दिई दुर्घटना हुँदा घाइते भएका मियालाई विराटनगर स्थित न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालक भारत मझपुरका ५९ वर्षीय बिन्देश्वर रामलाई  इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

यसैगरी ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ पाखुरेडाँडामा ढुङ्गाले किचेर एक बालकको मृत्यु भएको छ । सोमवार बेलुका साढे ५  बजे  चम्पादेवी–३ ताप्केडाँडामा साथीहरूसँग चुथ्रो खान गएका ओत बहादुर श्रेष्ठका ६ वर्षीय छोरा भीम बहादुर श्रेष्ठलाई अचानक भिर माथिबाट झरेको ढुङ्गाले टाउकोमा लागि गम्भीर घाइते भएका थिए । 

ढुङ्गाले किचेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागी स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।