झापा : झापाको माइपश्चिम भूगोलमा सक्रिय पत्रकारितामा क्रियाशील पत्रकारहरूको साझा संस्थाका रूपमा स्थापना भएको सक्रिय पत्रकार सञ्जाल दमक झापाको कार्यालय स्थापना भएको छ । 

सञ्जालले दमक ८ स्थित एक निजी घरको कोठा भाडामा लिएर बुधवारदेखि कार्यालय सञ्चालनमा ल्याएको हो । सो कार्यालयको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गर्दै पत्रकारिताको संस्थागत विकासप्रति स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले पत्रकारिताका नाममा भइरहेका विकृति र बिसंगतिहरुको सुधारमा यस किसिमका पत्रकारजन्य सङ्घ संस्थाहरूको रचनात्मक भूमिका हुनुपर्नेमा पनि जोड दिए ।

समाजलाई असल बाटोमा डोर्याउन  पत्रकारिताका माध्यमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईँले फरक आस्था र विचारलाई समेत समुन्नत समाजको विकासका लागि जोडने भूमिका पत्रकारहरूले निर्वाह गर्न सक्ने बताए । आग्रह पूर्वाग्रहरहित मर्यादित पत्रकारिता अहिलेको आवश्यकता भएकोमा उनको जोड थियो ।

सञ्जालका अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ एक नम्बर प्रदेश समिति कोषाध्यक्ष विमल लामिछानेले संविधानलेनै पत्रकारहरू मात्रै नभएर सबै पेसाकर्मीहरू आफ्नो पेसागत हकहितका निम्ति सङ्गठित हुन पाउने अधिकार सुनिश्चित गरेको बताउँदै ती संस्थाहरू उद्देश्य अनुरूप सञ्चालन हुनु आवश्यक भएको सुझाए । 

कार्यक्रममा प्रेस सेन्टर नेपालका एक नम्बर प्रदेश कमिटी उपाध्यक्ष डन्डीराज घिमिरेले पत्रकारितालाई कस्तो बनाउने भन्ने पहिलो भूमिका पत्रकारहरूकै हुने बताए । सञ्चार क्लब गौरादहका अध्यक्ष सुदिप अधिकारीले पत्रकारिताको विकासका लागि पत्रकार समबद्ध सङ्घ संस्थाहरूले भूमिका निर्वाह गर्नुपर्ने बताए ।