धरान : विजयपुरलाई सफा र सुन्दर धार्मिक पर्यटकीय स्थल बनाउन आज देखि साप्ताहिक सरसफाइ अभियान सुरु भएको छ ।

धरान-१४ विजयपुर धरानको मुख्य धार्मिक पर्यटकीय स्थल हो । यो क्षेत्रमा रहेका मठ मन्दिरमा हरेक दिन सयौँ धार्मिक पर्यटकहरू भित्रिने गर्दछन् । विजयपुर क्षेत्रलाई सफा र सुन्दर बनाउने अभियानका साथ आज देखि हरेक शुक्रवार विजयपुर क्षेत्रमा नियमित सरसफाइ अभियान हुने भएको छ ।

आज पहिलो दिन धरान उपमहानगरपालिका वडानं. १४ को समन्वयमा १४ नम्बर वडाका नव निर्वाचित जनप्रतिनिधिहरू, वडा कार्यालयका कर्मचारीहरू र स्थानीयवासीको सहभागितामा विजयपुर चौक देखि रेडक्रस चौक सम्मका विजयपुर प्रवेश गर्ने मुख्य सडक क्षेत्रको सरसफाइ गरिएको छ । 

विजयपुर क्षेत्र धार्मिक तथा ऐतिहासिक क्षेत्र भएकोले विजयपुरमा देश विदेशबाट पर्यटक आउने गरेकोले धरानको यो धार्मिक पर्यटकीय क्षेत्रलाई सफा राख्ने उद्देश्यका साथ आज देखि हरेक शुक्रवार साप्ताहिकरुपमा विजयपुर क्षेत्रका विभिन्न स्थानमा सरसफाइ गर्ने अभियान सुरु गरिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

उनका अनुसार अव देखि जुन क्षेत्रमा सरसफाइ गरिन्छ त्यही क्षेत्रका स्थानीयवासी यो अभियानमा सहभागी हुनुपर्नेछ । वडाका विभिन्न टोलको तालिका बनाएर आगामी दिनमा यो सरसफाइ अभियानलाई सञ्चालन गर्दै लगिनेछ । 

Sarsafai-1