धरान : ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षासँगै गएराति करिब साढे ८ बजे झरेको पहिरोले विष्णु अधिकारीको घर पुरिएको थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको मृत्यु भएको जानकारी दिएका छन् ।

पहिरोमा परी सख्त घाइते भएका विष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारको प्रबन्ध गरिने भएको छ । 

जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार तथा उपचार प्रबन्धको तयारी गरिएको हो । ‘हेलिकोप्टरमार्फत उद्धार गरी उपचारकोको प्रबन्धको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले जानकारी दिए । नेपाली सेनाको भीमकाली गुल्मपति अदित श्रेष्ठले उद्धारका लागि हेलिकोप्टर घटनास्थल सम्म पुगेको जानकारी दिए ।

अत्यधिक वर्षाका कारण ताप्लेजुङ जिल्लाका विभिन्न ठाउँमा पहिरो झरेको छ । लगातारको वर्षाले सडकमा पहिरो झरेपछि सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ ।

TPJ-PahiroTPJ-Pahiro-2