धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डाक्टरलाई भेट्न आएकी युवतीले झुन्डिएर आत्महत्याको प्रयास गरेका थिए । उनको उद्धार गरेर उद्धार गरेर अस्पताल पुर्‍याएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । 

बाराको कलैया माइती र रौतहटको पौरही ५ मा विवाह गरेकी २६ वर्षीय प्रकृति सुबेदी बीपीमा कार्यरत डाक्टर करण यादवलाई भेट्न मंगलबार धरान आएकी थिइन् । उनलाई डाक्टर यादवले धरान १० स्थित जनहित गेस्ट हाउसमा कोठा बुक गरेर राखेका थिए । होटलमा युवतीले ढोका नखोलेपछि डाक्टर यादवलाई खबर गरिएको थियो ।

डाक्टर यादव आएर ढोका खोलेर हेर्दा युवती तन्नाको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा भर्ना गरी उपचार भइरहेकोमा आज बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए । 

घटना लगत्तै डाक्टर करण यादवलाई प्रहरीले नियन्त्रणमा लिई अभद्र व्यवहार सम्बन्धी अनुसन्धान गर्दै गर्दा युवतीको मृत्यु भएपछि अहिले कर्तव्य ज्यान सम्बन्धी अनुसन्धान सुरु भएको छ । 

मृतकका आफन्त र उनका श्रीमान् नआइपुगेकोले पोस्टमार्टम भई नसकेको बताउँदै प्रहरी निरीक्षक रायले मृतकका आफन्त आइसकेपछि पोस्टमार्टम हुनेछ । 

डा. यादवको घर पर्साको वीरगन्ज महानगरपालिका २३ रहेको पनि प्रहरीले बताएको छ । युवती र उनका श्रीमान् केही वर्ष देखि सँगै नबसेको र उनीहरूको सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । पछिल्लो समय युवती र डाक्टर यादव बिच सम्बन्ध नजिकिन थालेको र युवती काठमाण्डौबाट धरान भेट्न आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।