धनकुटा : अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि धनकुटामा वितेका ६ महिना भित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक गरेको छ । 

इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरि ४८ जना विभिन्न घटनाबाट पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो । जसमा घरेलु हिंसाका ३०, हत्या २, कुटपिट राज्यपक्षबाट १, गैरराज्य पक्षबाट ३, धारिलो हतियार प्रहार ३, महिला तथा बालिका बलात्कारका ८ र बलात्कार प्रयास १ घटना गरी जिल्लामा ४८ ओटा घटना अभिलेख गरेको सरोकारवाला समक्ष इन्सेक प्रतिनिधी ईश्वर थापाले बताए ।

गत वर्षभरिमा ५७ वटा घटना भएकोमा यो वर्ष ६ महिनाकै अबधिमा ४८ जना पिडित भएको हुँदा यो वर्ष मानव अधिकार उल्लंघनका घटना बढि हुनसक्ने अनुमान रहेको इन्सेक धनकुटा प्रतिनिधि थापाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताए । उनले इन्सेक अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताए ।

धनकुटामा केही वर्षअघि उजुरी परेको बलात्कारका आरोपी पक्राउ परेका विषय कट्टेलले कानुनले कसैलाई क्षम्य नगर्ने बताउँदै खोजी भइरहेको बताए । उनले मानवअधिकार उल्लंघनका घटना कम गर्न सबैले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कट्टेल, प्रहरी निरीक्षक मान बहादुर श्रेष्ठ, हुसाडेक नेपालका अध्यक्ष सरोज भुजेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।