धरान : धरान-१४ विजयपुरमा शनिवार २८९ जनाको निःशुल्क आँखा परीक्षण भएको छ ।

धरान उपमहानगरपालिका-१४ नम्बर वडा कार्यालयको आयोजना र नेपाल नेत्रज्योति सङ्घ इटहरी शाखाको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच उपचार तथा चस्मा वितरण शिविरमा धरान-१४ विजयपुरका २८९ जनाको आँखा परीक्षण गरिएकोमा ३१ जनाको मोतीबिन्दु र ३ जनाको आँखाको जालो काट्ने शल्यक्रिया गरिने भएको छ ।

शल्यक्रिया गर्नुपर्ने वडावासीलाई १४ नम्बर वडा कार्यालयले मंगलबार वडा कार्यालयमा भेला पारी इटहरी आँखा अस्पताल लगिने १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । 

आँखा शिविरमा आँखा परीक्षण पछि ५१ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने आँखा परीक्षण पछि औषधी समेत वितरण गरिएको छ ।

यो कार्यक्रम विगतमा पनि वडा कार्यालयले नियमितरुपमा गर्दै आएकोमा कोरोना महामारीको कारण विगतका वर्षहरूमा हुन नसकेको बताउँदै वडाध्यक्ष भट्टराईले अव यो कार्यक्रमलाई निरन्तरता दिने बताए । 

धरान १४ को दन्तकाली माविको प्रागणमा भएको सो शिविरमा वडा कार्यालय र नेपाल नेत्रज्योति सङ्घको सहकार्य आगामी कार्यक्रममा पनि रहने नेपाल नेत्रज्योति सङ्घ १ नम्बर प्रदेश कार्यसमितिका सचिव जयप्रसाद निरौलाले बताए । 

आफ्नै गाउँठाउमा आँखा शिविर सञ्चालन भएको र अस्पताल नै जानु नपर्ने गरी आँखा परीक्षण भएकोमा स्थानीयवासीले खुसी व्यक्त गरे । 

Akha-sibir-1Akha-sibir-2