धरान : विराटनगर विमानस्थल पीडित सङ्घर्ष समितिले ६ बुँदे आन्दोलनको घोषणा सार्वजनिक गरेको छ । 

विराटनगर विमानस्थल पीडित सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम दिएको सोमबार पुरा भएको छ । यो बिचमा विमानस्थल पीडितहरूलाई मुआब्जा अथवा रोक्का राखिएको जमिन फिर्ता विषयमा ठोस उपलब्धि प्राप्त हुन सकेन ।

दुवै निकायले माथि लेखेर पठाउने बाहेकका अन्य काम नभएकाले असार ७ गते देखी आन्दोलनमा उत्रन बाध्य भन्दै पहिलो चरण अन्तरगत सडक सङ्घर्षको कार्यक्रम घोषणा गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

असार ७ गते बिहान ११ बजेदेखि १ बजे सम्म विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिने, ८ र ९ गते पनि दैनिक सोही समयमा चेम्बर गेटमा धर्ना दिने,  

असार १० गते जग्गा प्राप्ति ऐन २०३४ मा सरकारले चाहेमा जग्गा अधिग्रहण गर्न सक्ने व्यवस्था छ तर कति समय भित्र मुआब्जा दिइसक्ने अथवा रोक्का जमिन फुकुवा गर्ने भन्ने ऐनमा व्यवस्था नभएकाले विभेदकारी ऐन जिल्ला प्रशासन कार्यालय अगाडी जलाउने र ऐन परिमार्जन गर्न दबाब दिने बताइएको छ ।

यसैगरी असार ११ गते पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पीडितसँग ज्ञापन पत्र बुझेर मुआब्जाको बजेटको व्यवस्था गर्छु भन्ने बाचा गरेका थिए । तर एक जना व्यापारी उद्योगीको बहकाउमा लागेर अमडुवामा विमानस्थल सार्ने जस्तो हावादारी कुराको पछि लागेर जनतालाई दुख दिएकाले उनको पुत्ला दहन मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी गर्ने, प्रमुख राजनीतिकदलहरुलाई आन्दोलनलाई समर्थन र अपनत्व ग्रहण गरिदिन पत्राचार गर्ने र ‘विराटनगरको विकास र अधुरा योजनाहरू’ शीर्षकमा शीर्षस्थ नेताहरू सित अन्तरक्रिया कार्यक्रम गर्ने र पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न भएपछि दोस्रो चरणको कडा आन्दोलनको कार्यक्रम घोषणा गर्ने विराटनगर विमानस्थल पीडित सङ्घर्ष समितिका अध्यक्ष बेदराज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।