धरान : यही असार १० गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको निर्वाचनमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका कर्मचारी भद्र बहादुर तामाङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
प्रजातान्त्रिक-वाम लोकतान्त्रिक कर्मचारी समूहको चुनाव चिन्ह कलशबाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् । उनले त्रि.वि. प्रजातन्त्रवादी कर्मचारी सङ्घको केन्द्रीय सदस्य र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानको इकाई अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूको छाता सङ्गठन त्रि.वि. कर्मचारी सङ्घ, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानको इकाई अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिरहेका छन् । 
प्रजातान्त्रिक-वाम लोकतान्त्रिक कर्मचारी समूहबाट अध्यक्ष पदका उम्मेदवार पुण्यप्रसाद आचार्य नेतृत्वको समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका उनी संस्थागत सुधार एवम् पेशागत हकहित र मर्यादाका लागि सहमति, सहकार्य, सह–अस्तित्व र वृत्ति विकासका लागि हाम्रो अभियान भन्ने नारा लिएर विभिन्न क्याम्पसहरूमा निर्वाचन प्रचार–प्रसार र मत माग्दै पुगिरहेका छन् । 
उच्च शिक्षाको विरासत वाकेको देशकै जेठो विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूको आधिकारिक र साझा छाता सङ्गठनको हुन गइरहेको निर्वाचनमा निरन्तर कर्मचारीको पेशागत हकहित र शिक्षाको गुणस्तर वृद्धिका लागि जिम्मेवारीपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्दै आफ्नो कुशल नेतृत्वपन र कार्यक्षमता देखाइसकेका उनी केन्द्रीय पदाधिकारीको उम्मेदवारी दिनेमा प्रदेश १ कै एक्लो रहेका छन् । समन्वयकारी नेतृत्व शैली, मिलनसार, लोकप्रियता र कार्यक्षमताका कारण उनको जीत सुनिश्चित भएको कर्मचारीहरू बताउँछन् ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य गरी २५ सदस्यीय त्रिवि कर्मचारी सङ्घको केन्द्रीय कार्यसमितिको निर्वाचन हुन लागेको हो ।