धरान : परिवर्तनका लागि सामाजिक अभियानले धरानको पर्यटन प्रवर्द्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरेको छ । 

धरान भानुचौकको घण्टाघर परिसरमा आयोजित उक्त कार्यशालामा विराटनगर, काँकडभिट्टा, धुलाबारी, बेलबारी, बर्जू, इटहरी, धनकुटा लगायत धरानका कलाकारहरूको सहभागिता रहेको थियो ।

परिवर्तनका लागि सामाजिक अभियानले स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्ने लक्ष्य अनुरूप उक्त कार्यक्रम आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “हामीले धरानको पर्यटन प्रवर्द्धनका लागि एक इटा थप्ने कोसिस गरेका हौँ, शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा कार्यरत रहेका छौँ ।” बरालले बताए । 

विराटनगरकी वरिष्ठ कलाकार अनुराधा थापा यस्ता कार्यक्रमहरूले कलाकारहरू बिच कलाका बारेमा नयाँ कुराहरू छलफल गर्ने र अवलोकनकर्ताहरूले समेत प्रत्यक्ष कला नियाल्ने अवसर पाउने बताइन ।

उक्त कार्यशालामा धनकुटाका डिल्लीकृष्ण आले, काँकडभिट्टाबाट छितेन शेर्पा, तुलसी श्रेष्ठ, बर्जू गाउँपालिकाका शिव गुरुङ, बेलबारीका शिव छाङ्छा राई, गणेश लामा, इटहरीकी यशोदा लम्साल, धरानका प्रनोद दत्त लगायतका कलाकारहरूको सहभागिता रहेको थियो ।

इटहरीकी यशोदा लम्सालले धरानका नगरप्रमुख हर्कराज राईको तस्बिर बनाएकी थिइन । निशान नेपालको संयोजकत्वमा सम्पन्न उक्त कार्यशालामा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र विक्रम बेघा, पूर्व मेयर तिलक राई लगायत विभिन्न विद्यालयका विद्यार्थीहरूले समेत अवलोकन गरेका थिए ।