धरान : धरान उपमहानगरपालिकाको असार ८ गते हुने भनिएको ११ औँ नगरसभा दुई दिनपछि धकेलिएर असार १० गते हुने भएको छ ।  मंगलबार बसेको कार्यपालिका बैठकमा वितरण गरिएको नीति तथा कार्यक्रम २८ पृष्ठको लामो भएकोले यसलाई एकै दिनमा अध्ययन गरेर सुझाव दिन नसकिने भएको भन्दै असार १० गते दिउसो १ बजे सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने गरी निर्णय भएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिएका छन् । 

मङ्गलवारको कार्यपालिका बैठकमा सञ्चारकर्मीहरूलाई लाइभ नगर्न भनिएको थियो । धरानको नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा गम्भीर छलफल हुनुपर्ने भएकोले लाइभ गर्दा सबै सार्वजनिक हुने भएकोले मङ्गलवारको बैठकको लाइभ नगर्न मेयर हर्क साम्पाङले सञ्चारकर्मीलाई अनुरोध गरेका थिए । 

मङ्गलवारको कार्यपालिका बैठक दिउसो २ बजे देखि हुने भनिएको भए पनि मेयर र उपमेयर कार्यपालिका बैठक कक्षमा साढे ३ बजे पछि मात्रै उपस्थित भएका थिए । निर्धारित समय भन्दा करिब डेढ घण्टा ढिलो बैठक सुरु भएको थियो ।