धरान : धरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा बुधवार विरोध तथा सिट्ठी जुलुस प्रदर्शन भएको छ । 

नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल धरान उपमहानगर समिति, नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ समिति र नेपाल विद्यार्थी सङ्घ सुनसरी क्षेत्र नं. १ समितिको संयुक्त आयोजनामा भएको विरोध तथा सिट्ठी जुलुस धरानको सिंहदेवी चौकबाट सुरु भई भानुचौकमा पुगेर कोण सभामा परिणत भएको थियो । 

कोणसभालाई नेपाली जनताको ढाड सेकिने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तुरुन्त फिर्ता लिनुपर्ने भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिका नरसिंह राई, नेपाल तरुण दल क्षेत्रीय सचिव रोजन रणपहेली र नेविसंघका नेता दोर्ची सेर्पा लगायतले सम्बोधन गरेका थिए ।

उनीहरूले मूल्यवृद्धि तुरुन्त फिर्ता लिनुपर्ने बताउँदै यदि सरकारलाई खबरदारी गर्दा पनि सुनेन भने चरणबद्ध आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।