धरान  : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को आइडियालाई सपोर्ट गर्दै धरानका दुई रेन्टुरेन्टले आफ्नो शौचालय सार्वजनिक प्रयोगमा ल्याएका छन् । रेस्टुरेन्ट प्रयोजनको लागि प्रयोग हुँदै आएको शौचालयलाई सार्वजनिक प्रयोगको लागि खुल्ला गरेका हुन् । 
भानुचौकबाट पश्चिम पुतली लाइनका महेश श्रेष्ठले सञ्चालन गरेको हानकुक साराङ (कोरियन माया) रेस्टुरेन्टको शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । बालेनले चलाएको अभियानलाई सपोर्ट हुने र धरानमा आउने आगन्तुकको समस्यालाई पनि सम्बोधन हुने हिसाबमा शौचालय खुल्ला गरिएको उनले बताए । 
धरानमा पछिल्लो समय आगन्तुकको सङ्ख्या घटेको महसुस भएपछि व्यवसायीक स्तरबाटै नयाँ कामको थालनी हुनुपर्ने उनले सुनाए । आफूले पनि बाहिर जाँदा धेरै समस्या भोग्नुपरेकाले सबैको सहजताको लागि यो निर्णय गरेको उनले प्रस्ट पारे । नेपालभर ९ वटा सहरमा फ्रेन्चाईज रहेको हानकुक साराङ रेष्टुरेन्ट धरानमा श्रेष्ठले सञ्चालन गरिरहेका छन् । 
पुतली लाइनमा रहेको फ्रेन्डस् गार्डेन सञ्चालन गर्दै आएका सुमन श्रेष्ठले पनि रेस्टुरेन्ट भित्रको शौचालयलाई सार्वजनिक प्रयोगमा खुल्ला गरेका हुन् । आगन्तुकलाई बाटोमा धेरै लाई समस्या भएको बुझेर बालेनको कन्सेप्टलाई प्रयोगमा ल्याएको उनले बताए । रेस्टुरेन्टमा आएपछि पैसा तिर्नै पर्ने सोच छ भएकाले आफूहरूले निःशुल्क शौचालय प्रयोग गर्न दिने निर्णय गरेको उनको भनाई छ । पुतली लाइनको सिटिजन बैङ्क देखी ठिक अगाडी रहेको रेस्टुरेन्ट ६ वर्षदेखि सञ्चालनमा छ ।