धरान : धरान उपमहानगरपालिकाको भोलि हुने ११ औं नगर सभाको पूर्व सन्ध्यामा आज भइरहेको कार्यपालिका बैठक अहिले रोकिएको छ । 

भोलि हुने नगर सभाका लागि नीति तथा कार्यक्रम पारित भए पछि विनियोजन विधेयक माथि छलफल भइरहेको बेलामा थप छलफल गर्नुपर्ने भन्दै नेकपा एमालेका कार्यपालिका सदस्यहरू बैठक कक्षबाट बाहिरिए पछि अहिले बैठक रोकिएको हो । 

बिहान ८ बजे देखि हुने भनिएको बैठक निर्धारित समय भन्दा केही ढिलो गरी सुरु भएको थियो । बैठकमा नीति तथा कार्यक्रम पारित भयो र विशेष गरेर विनियोजन विधेयकको केही बुँदाहरूमा सहमति नभएपछि छलफल गर्नु पर्ने भन्दै बैठक स्थलबाट नेकपा एमालेका कार्यपालिका सदस्यहरू बाहिरिएपछि बैठक रोकिएको धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्य भट्टराई (मनोज) ले बताए । उनले भने छलफलका लागि एमालेका साथीहरू बाहिरिनुभएको हो, उहाहरु आए पछि बैठक सुचारु हुन्छ । 

अहिले बैठक कक्षमा नेपाली काँग्रेसका कार्यपालिका सदस्यहरू, स्वतन्त्र, राप्रपाबाट निर्वाचित वडाध्यक्षहरू मात्रै उपस्थित रहेका छन् । मेयर र उपमेयर पनि एउटै गाडीमा उपमहानगरपालिकाबाट बाहिरिएका छन् । बैठक पुनः सुचारु हुने भन्दै उपमहानगरका महाशाखा प्रमुखहरू, कार्यकारी अधिकृत र वरिष्ठ अधिकृतहरू बैठक कक्षमै रहेका छन् । बैठक पुनः हुने नहुने अनिश्चित जस्तै भएको एक कार्यपालिका सदस्यले कपुरी न्युजलाई बताए ।