धरान : धरानमा पछिल्लो समय ठुलो मात्रमा अवैध औषधी सहित धमाधम औषधी खरिद बिक्री गर्ने कारोबारी प्रहरीले पक्राउ गर्न थालेको छ । 

बिहीबार साँझ धरान–३ माछाभौडीबाट ठुलो मात्रको अवैध औषधी सहित इलाका प्रहरी कार्यालय धरानले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा–४ घर बताउने धरान–३ माछाभौडीमा डेरा गरी बस्ने वर्ष २६ को सिजन राई रहेका छन् ।

उनलाई बाटोमा हिँडिरहेको बेलामा शङ्का लागि प्रहरीले उनको शरीरको खानतलासी लिनेक्रममा गोजीमा अवैध औषधी बोकेको भेटिएपछि उनको कोठामा प्रहरी पुगेर खानतलासी गर्दा ठुलो मात्रको अवैध औषधी फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए । 

पक्राउ परेका राईको कोठाबाट स्पासपाम ५८९ ट्यावलेट, ट्रामाडोल ६३० ट्यावलेट, डिकोलिक १८० ट्याब्लेट र मारुती १२० ट्याब्लेट बरामद भएको छ । उनलाई अवैध औषधी सहित पक्राउ गरी इलाका प्रहरी कार्यालयमा राखिएको छ । 

धरानमा पछिल्लो समय अवैध औषधी सहित थुप्रै कारोबारी धरान प्रहरीले पक्राउ गर्न सफल भएको छ । अवैध औषधीलाई अहिले लागुऔषधकोरुपमा प्रयोग बढेको कारण यसको पनि कारोबार बढेको डिएसपी श्रेष्ठले बताए । पछिल्लो समय धरान प्रहरीले लागुऔषध र चोरी सम्बन्धी बढी केन्द्रित रहेर काम गरेकोले गर्दा अवैध औषधी कारोबारी र चोरी गर्नेहरू बढी पक्राउ परेको पनि प्रहरीले बताएको छ ।