धरान : यति बेला धरानमा दैनिक जसो पानी परिरहेको छ ।

तर सुख्खा याममा जसरी धरानमा खानेपानी वितरण हुने गर्दथ्यो त्यसरी नै अहिले पनि एक दिन बिराएर खानेपानी वितरण गरिँदै छ । केही ठाउँमा राति खानेपानी वितरण हुने र कहीँ कहीँ त अझै धारामा पानी थोपै नझर्ने पनि समस्या छ । यसो हुनुको मुख्य कारण धरानमा खानेपानी जति मात्रमा आपूर्ति हुनुपर्ने हो त्यो नभएर यस्तो भएको बताइएको छ ।

धरानमा दैनिक अढाई देखि ३ करोड लिटर सम्म खानेपानीको माग छ । तर धरानमा भूमिगत पानी दैनिक करिब डेढ करोड मात्रै उत्पादन हुने र सर्दु र खर्दुमा पानी पर्याप्त भएर पनि खानेपानी टङ्कीमा रिर्जव गर्न नसकिएको धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक इन्जिनियर राजु पोखरेलले बताए ।

उनका अनुसार खोलामा पानी पर्याप्त छ तर बोर्डले तयार गरेको फिल्टर सम्म ल्याएर पानी फिल्टर गर्न सकिरहेको छैन । राति पानी पर्ने र धमिलो फोहोर पानी आउने भएकोले त्यतिकै धमिलो पानी वितरण गर्न नहुने भएकोले अहिले धरानको माग अनुसार बर्खा याममा पनि पानी वितरण गर्न नसकिएको निर्देशक पोखरेलले बताए । 

असार १५ देखि धरानमा दैनिक पानी वितरण हुने: 

धरानमा सतहको पानीको स्रोत बढेसँगै असार १५ गतेबाट दैनिक खानेपानी वितरण हुने भएको छ । 

भूमिगत पानी उत्पादनमा भारी वर्षासँगै चट्याङले ट्रान्सफरमरमा क्षति गर्ने भएकोले भूमिगत पानी आयतमा पनि समय समयमा समस्या हुदै आएको छ । तर अव सतहको पानी सर्दु र खर्दुमा पानीको स्रोत बढेकोले त्यसलाई व्यवस्थित गरेर असार १५ देखि नियमित पानी वितरण हुने बोर्डका निर्देशक राजु पोखरेलले बताए । पानी वितरण राति नहुने र दिउसो हुने काहा कुन समयमा पानी वितरण हुने तालिका नै सार्वजनिक गर्ने पनि उनले बताए ।

पछिल्लो समय धरानका नव निर्वाचित मेयर हर्क साम्पाङ खानेपानी समस्या समाधानका लागि भनेर निकै सक्रिय भइरहेको बेलामा बर्खा याममा पनि खानेपानी एक दिन बिराएर मात्रै धारामा आउँदा धरानमा खानेपानीको समस्या ज्युका त्युनै रहेको महसुस गरेका थिए ।