धरान : इलामको माङसेबुङ गाउँपालिका-२ दहगाँउ स्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ का ६५ वर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र इलाम माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय प्रकाश राई रहेका छन् ।

आइतबार दिउसो १२ बजे पाँचथरको रबीबाट झापाको दमक तर्फ आउँदै गरेको मे १ ज ४८७ नं. को बोलेरो गाडी सडकबाट अन्दाजी २ सय मिटर तल झरी दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी हिम प्रसाद र प्रकाशको घटनास्थलमानै मृत्यु भएको थियो भने पदम कुमारीको उपचारको लागी दमक अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । बोलेरो चालक फरार रहेकोले खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।